नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो छ : मन्त्री शर्मा

नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो छ : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।

शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको बताए । अर्थमन्त्री शर्माले अगाडि भने, ‘देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइयो ।’

उनले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताए । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उनको तर्क छ ।

प्रकाशित मिति:     ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar