संघीय सांसदको तलब ६६ हजार र मन्त्रीको तलब ७२ हजार पुग्यो

संघीय सांसदको तलब ६६ हजार र मन्त्रीको तलब ७२ हजार पुग्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ ।

सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।

बढेको तलबमान १ साउनबाटै कायान्वयनमा आउने छ । तर अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको छ । बढेको तलब अनुसार उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ पुगेको छ । यस्तै मन्त्रीको तलब ७२ हजार ७३० रुपैयाँ पुगेको छ भने राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ छ ।

यस्तै सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन् । उपसभामुख र विपक्षी दलका नेताले समान ७२ हजार ७३० रुपैयाँ तलब पाउँछन् । संघीय सांसदको तलब भने ६६ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar