साउनमा भन्दा भदौमा २१ प्रतिशत राजस्व कम, दबाबमा अर्थमन्त्री महत

साउनमा भन्दा भदौमा २१ प्रतिशत राजस्व कम, दबाबमा अर्थमन्त्री महत

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम कुल लक्ष्यको ९.९२ प्रतिशत मात्र तथा गत आर्थिक वर्षको दुई महिनाको भन्दा पनि कम हो। अपेक्षा गरे अनुसार राजस्व संकलन नभएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब महसुस गर्न थालेका छन्।

कर राजस्व १ खर्ब २७ अर्ब ९५ करोड र गैर कर राजस्व १३ अर्ब १२ करोड रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। राजस्व रकमले भदौ महिनामा वस्तुको आयात नबढेको देखाउँछ। भदौ चाडपर्वलाई लक्षित गरेर सामान धेरै आयात गरिने समय हो। तर यसपालि भदौमा साउनको भन्दा पनि कम राजस्व उठेको छ। साउनको तुलनामा भदौमा २१ प्रतिशत कम राजस्व उठेको हो।

साउनमा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व उठेकोमा भदौमा ६२ अर्बभन्दा बढी उठ्न नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। अहिलेको राजस्व असुली हेर्दा सरकारमाथि यो वर्ष पनि स्रोत व्यवस्थापन गर्न चुनौती हुने ठानिएको छ।

यो वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको सरकारी लक्ष्य छ। यो लक्ष्य गत आर्थिक वर्ष संकलन भएभन्दा करिब ४० प्रतिशत बढी हो। गत वर्ष राजस्व वृद्धिदर ५५ वर्षपछि पहिलोपटक ऋणात्मक हुन पुगेको थियो।

प्रकाशित मिति:     २ आश्विन २०८०, मंगलवार  |    Himali Khabar