नेपाली सेनाले पहिलो पटक गर्‍यो कञ्चनजंघा सफल आरोहण

नेपाली सेनाले पहिलो पटक गर्‍यो कञ्चनजंघा सफल आरोहण

काठमाडौं । नेपाली सेनाको टोलीले पहिलो पटक कञ्चनजंघा हिमालको आरोहण गरेको छ। सफा हिमाल अभियान २०२२को क्रममा कञ्चनजंघा हिमाल पुगेका मध्ये दुई जनाले हिमालको आरोहण गरेका हुन्।

उनीहरू पुगेसँगै नेपाली सेनाले पहिलोपटक त्यस हिमालमा पुगेर आफ्नो झन्डा फहराएको हो। नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले आरोहण गरेका थिए। उनीहरूले मे ७मा आरोहण गरेको नेपाली सेनाले जानकारी दिएको छ।

त्यस्तै अर्को टोलीले सगरमाथाको आरोहण पनि गरेको छ। नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले मे १२ मा आरोहण गरेका थिए। सोही दिन क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगरले ल्होत्से हिमालको आरोहण गरेका थिए।

नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।

प्रकाशित मिति:     २३ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar