खुलेआम गैरकानुनी सेवा दिदै शैक्षिक परामर्स कम्पनीहरु, टुरिस्ट भिसामा विदेश पठाउँदै बाबा एजुकेशन कन्सल्टेन्सी

खुलेआम गैरकानुनी सेवा दिदै शैक्षिक परामर्स कम्पनीहरु, टुरिस्ट भिसामा विदेश पठाउँदै बाबा एजुकेशन कन्सल्टेन्सी

कमल अधिकारी

काठमाडौं । शैक्षिक परामर्श व्यवसायको काम विशुद्ध शैक्षिक अध्ययनका लागि आवश्यक सल्लाह, सुझाव र गाइड लाइन दिने हो । यो बाहेक कन्सल्टेन्सीहरुले गर्न पाउने भनेको विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई सहजताको लागि सम्बन्धित देशको भाषा कक्षा र प्रोसेसका लागि आवश्यक डकुमेन्टेसनको मात्र हो । यो बापत उनीहरुले विद्यार्थीहरुबाट निश्चित सेवा शूल्क लिन पाउँछन् ।

यसका अतिरित्त उनीहरुको आम्दानी सम्बन्धित देशका कलेज तथा युनिभर्सिटीहरुले विद्यार्थी दिए वापत केही प्रतिशत कमिशन पनि हो । जुन कानुन त ः बर्जित नगरिएको शूल्क हो । यो बाहेक अन्य सेवा दिन र शूल्क लिन पाइदैन । तर पछिल्लो समय केही कन्सल्टेन्सीहरुले खुलेआम भिजिट भिसा, बिजनेश भिसा र डीपेण्डेण्टको समेत काम गर्दै आएका छन् । बाहिर परामर्श सेवाको बोर्ड राखेर केही कन्सल्टेन्सीहरुले भित्र मेनपावर व्यवसायकै जस्तो सेवा दिने काम गर्दै आएको छ । यस्तै गैरकानुनी कार्य गर्दै आएको छ, नयाँ सडक स्थित बाबा एजुकेशन कन्सल्टेन्सी । बाबा एजुकेशन कन्सल्टेन्सीले आफ्नो फेसबुक पेजमै भिजिट भिसा , डिपेन्डेन्ट भिसाको सुविधा दिने भन्दै प्रचार गरिरहेको छ । यतीसम्मकि उसले यी भिसाको ग्यासेन्टी समेत लिने गरेको र भिसा सक्सेस भएकाहरुको फोटो नै राखेर पोस्ट गरिरहेको छ । यसबाट प्रस्ट हुन्छ यो कन्सल्टेन्सीले मनोमानी रुपमा आफ्नो क्षेत्राधिकार मिचेर ट्राभल एजेन्सी र मेनपावर एजेन्सीको काम गर्दै आएको छ । यो कन्सल्टेन्सीहरुले नितान्त गर्न नपाउने सेवा हो जुन स्पस्ट रुपमा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षा सम्बन्धि निर्देशिकामा समेत उल्लेख छ।


तर संचालक राजेन्द्र कुमार शर्मा भने आफुहरुले नियम अनुसार नै भिसाको काम गरिरहेको दावी गर्छन् । विदेशमा अध्ययनमा गएका अविभावकहरुलाई मात्र भिसा सुविधा उपलध गराउदै आएको उनको भनाइ छ ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलले बिना अनुमाति कुनै पनि कार्य गर्ने र गराउने सबैलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । वैदेशिक शिक्षालाई मर्यादित र व्यवस्थित बनाउन आफू आएदेखि नै कार्य गर्दै आएको भन्दै उनले यस क्षेत्रलाई विकृत बनाउने कुनै कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए ।

यस्तै नेपाल शैक्षिक परामर्श संघ इक्यान का महासचिव दीपकराज भुसालले पनि परामर्श सेवा दिने संस्थानले भिसा सेवाको काम गर्नु अवैध भएको बताए । ‘कन्सल्टेन्सीहरुको काम विशुद्ध शैक्षिक अध्ययनका लागि आवश्यक परामर्श दिने हो, भिजिट भिसामा पठाउने कार्य गैरकानुनी हो,’ उनले भने । आफ्ना सदस्य कम्पनीहरुले यस्ता कार्य गरेको पाएमा कारबाही समेत गर्ने बताए।

कोरोनाका कारण केहि मुलुकहरुमा दक्ष जनशक्तिको अभाब भएसगै बिध्यार्थिहरुलाई भिसा इस्युमा केहि सहजता गरेको देखिन्छ ,त्यसैको फाइदा अहिले गलत मनसायबाट संचालित केहि परामर्शदाता कम्पनीहरुले लिएको पाइन्छ। बिशेष गरि अस्ट्रेलियाले पनि बिगतको तुलनामा भिसा प्रक्रिया सहज बनाइदेको छ। जसको फाइदा घुमाउरो बाटोबाट केहि कन्सलटेन्सीहरुले लिने गरेको पाइएको छ। कन्सल्टेन्सीहरुले पछिल्लो समय विदेश जानका लागि सहज र छिटो बाटोका रुपमा भिजिट भिसालाई अपनाउन थालेसँगै कन्सल्टेन्सीहरुले यसलाई राम्रो व्यवसाय बनाएका छन् । बाहिर कन्सल्टेन्सीको बोर्ड राखेर भित्र भिसा सेन्टर जस्तै दुई नम्बरी धन्दा संचालन गरिरहेका छन् ।

यतिमात्र होइन कन्सल्टेन्सीहरुले कलेजको स्पोन्सरसिपमा भिजिट भिसामा मोटो रकम लिएर गैर विद्यार्थीहरुलाई पठाउने गरेको समेत बजारमा चर्चा छ। कन्सल्टेन्सीले नक्कली प्रतिनिधि बनाई कलेजको स्पोन्सरसिपमा पठाउँदा छिटो र सहज हुने भएकाले यस्तो कार्यमा उनीहरुको निकै आकर्षण देखिन्छ । यस्त व्यक्तिहरुबाट कन्सल्टेन्सीहरुले १५ देखि २० लाख रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।

अध्यायगमन विभागका अनुसार गत वर्ष सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युनाईटे अरब इमिरेट्स ९युएई० गएका छन् । त्यससमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमा भिजिट भिसामा युएई गएको देखिन्छ । सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको अध्यागमनकै तथ्यांकले देखाउँछ । त्यस्तै, सन् २०२० मा ८२ हजार र २०१९ मा करिब ७१ हजार नेपाली भिजिट भिसा यूएई पुगेका छन् । अध्यागमन विभागके तथ्यांकले प्रष्ट हुन्छ, भिजिट भिसामा श्रमका लागि जानेहरुको संख्या बार्षिक रुपमा बढ्दो छ । यसलाई कन्सल्टेन्सीहरुले कमाउने गतिलो माध्यमको रुपमा अपनाइरहेको प्रष्ट हुन्छ । सरकारी अध्ययनमा भिजिट भिसाको सेटिङबाट वार्षिक साढे १ अर्बको आर्थिक चलखेल भइरहेको छ।

प्रकाशित मिति:     २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar