नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही मंसिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।

गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।

यसअघि कोभिड–१९ को संक्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ ।

प्रकाशित मिति:     २३ मंसिर २०७८, बिहीबार  |    Himali Khabar