यी सर्त पूरा गरेका पर्यटकले अब अनअराइभल भिसा पाउने

यी सर्त पूरा गरेका पर्यटकले अब अनअराइभल भिसा पाउने

काठमाडौं । सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।

अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो । नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ ।

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar