काठमाडौं । क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शंकाको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका हुन्।
प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका छन्। उनले हैटीको अध्यागमन कार्यालयलाई लेखेको पत्रमा प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ।
७१ वर्षीय न्युरोसर्जन हेनरी राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हैटीको प्रधानमन्त्री बनेका थिए। उनका समर्थकले मेडिकल क्षेत्रमा प्रतिष्ठा कमाइसकेका उनले राष्ट्रपतिको हत्या र २ हजार बढी मानिसको ज्यान जाने गरी आएको भूकम्पपछि हैटीलाई सम्हालिरहेको बताएका छन्। अनुसन्धानकर्ताले भने राष्ट्रपतिको हत्याका एकजना अभियुक्तसँग हत्याअघि हेनरीको फोन सम्पर्क भएको देखिएको बताएका छन्।
घटना भएको दुई महिना बितिसक्दा पनि मोइसेको हत्या कसले गरेको भन्ने कुरा रहस्यमै छ। अहिलेसम्म अनुसन्धानकर्ताहरूले विदेशीसहित केही दर्जन व्यक्तिलाई हिरासतमा लिएका छन्। प्रधानमन्त्रीकै नाम हत्यामा मुछिएपछि घटना झन् रहस्यमय बनेको छ।