काठमाडौं । तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ।
तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक व्यवसायिक उडान गरेको उक्त जहाजमा झन्डै ११३ यात्रु थिए। उनीहरू अमेरिका, बेलायत, क्यानडा, जर्मनी र बेलायतका नागरिक हुन्। अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी सैनिकले विमानस्थल सञ्चालन गरेर उद्धार उडानमात्र गरेको थियो। अमेरिकी सैनिकले अगस्ट ३१ मा काबुल विमानस्थल छोडे पनि तालिबानहरूले विमानस्थल सञ्चालन गर्न सकेका थिएनन्।
अफगानिस्तानमा अमेरिकी र नाटो सैनिक हुँदा उक्त विमानस्थल टर्कीले चलाउँदै आएको थियो। विदेशी फौज फिर्ता भएपछि तालिबानलाई विमानस्थल सञ्चालन गर्न कठिन भएको थियो। पछिल्लो समय विमानस्थल चलाउन टर्की र कतारले सहयोग गरिरहेका छन्।