काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।
दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार निगमले सोही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजेल आयात गर्दै आएको छ ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेपछि ढुवानीबापत तीन अर्ब २३ करोड २२ लाख रुपैयाँ बचत भएको पौडेलले जानकारी दिए। पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले सो बराबरको बचत गर्न सकेको हो ।