धितो राखेको सुन नक्कली भनेको महालक्ष्मी विकास बैंकले अन्तत सक्कली सुन फिर्ता गर्यो

धितो राखेको सुन नक्कली भनेको महालक्ष्मी विकास बैंकले अन्तत सक्कली सुन फिर्ता गर्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरकी विष्णुदेवी महर्जनलाई धितो राखेको सुन फिर्ता गरेको छ। ललितपुरको कुमारीपाटी शाखामा ऋण तिरे पनि धितो राखेको सुन फिर्ता गर्न आनाकानी गरेको बैंकले महर्जनलाई सुन फिर्ता गरेको हो।

बैंकले गत शुक्रबार महर्जनले धितोमा राखेको सुन फिर्ता दिएको जानकारी गराएको छ। बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्ने क्रममा समय लागेको दाबी गरेको छ। महर्जनले पनि बैंकको मुख्यालयले शुक्रबार आफूलाई फोन गरेर सुन लिन बोलाएको जानकारी दिइन्।

विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन्। त्यसबापत् उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन्।

उनले ऋण चुक्ता गरेपछि धितो राखेको सुन फिर्ता माग्दा बैंकका प्रवन्धकले नक्कली रहेको बताएका थिए । नक्कली भएको भन्दै धितोमा राखेको सुन फिर्ता नगरेपछि विष्णुदेवीले महानगरीय प्रहरी कार्यालय ललितपुरमा जाहेरीसमेत दिएकी थिइन्।

बैंकले भने आज प्रेस विज्ञप्ती जारी गर्दै कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयमा केही सञ्चारमाध्यममा आएका ‘गलत’ समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बैंकले बताएको छ । बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय भएको बैंकको भनाइ छ ।

प्रकाशित मिति:     २० भाद्र २०७८, आईतवार  |    Himali Khabar