काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ।
द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो।
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्दा झन्डै तीन हजार मानिसको मृत्यु भएको थियो। उक्त आक्रमणका योजनाकार ओसामा विन लादेनलाई तत्कालीन अफगान सरकारले अमेरिकालाई बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण थालेका थियो।
त्यतिबेला पनि काबुलमा तालिबानहरूको सरकार थियो। २० वर्षपछि अमेरिकाले अफगानिस्तान छोड्दा तालिबानहरूले नै काबुलको सत्ता फेरि कब्जा गरेका छन्।