काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ ।
पर्यटन क्षेत्रमा कार्यरत करीव ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको रोजगारी सिर्जना गर्न ‘जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना’ संचालन गर्न लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम -युएनडिपी)सँगको सहकार्यमा यस्तो कार्यक्रम संचालन गर्न लागेको हो । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने समेत बताइएको छ । यो कार्यक्रम दुई वर्ष ६ महिना अवधिको हुने छ ।
परियोजनामा नेपाल पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीले १० लाख ५० हजार सहलगानी गर्ने छ । कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरि परियोजना संचालन गरिने बोर्डले जनाएको छ । बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको जनाएको छ ।
परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोेर्ड (जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् -नाटा) बीच बुधबार सम्झौता भएको छ । सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजगारी प्रदान गर्ने छ ।