काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गलत प्रवृतिसँग कुनै पनि हालतमा सम्झौता नगरिने बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले उक्त प्रवृतिविरुद्ध जुधिरहने बताए ।
“गलत प्रवृतिका विरुद्ध निरन्तर जुधिने छ । गलत प्रवृतिसँग कुनै पनि हालतमा सम्झौता गरिने छैन । राष्ट्रियताको मामिलामा, देशभक्तिको मामिलामा, विदेशीहरुले हस्ताक्षेप गर्ने विषयमा, कुठारताघात गर्ने प्रवृतिका विरुद्धमा नो कम्प्रमाइज,” उनले भने ।
“अहंकार हावी भयो । व्यक्तिवाद हावी भयो । स्वार्थ हावी भयो । धेरैतिर विकृति विसंगती देखा परे । व्यवहार र आचरणमा देखा परे । यी सबै समस्याको जड हो,” उनले भने । त्यस्ता प्रवृतिविरुद्ध जुध्ने उनको भनाइ छ । त्यस्तै नेता नेपालले मान मर्यादा र ठाउँ पाए पार्टीमा बस्ने संकेत गरे । एमाले उपाध्यक्ष वामदेव गौतम जसरी अपमान सहेर भने बस्न नसकिने र बाध्यताको बाटो अपनाउनुपर्ने अवस्था आउन सक्ने बताए ।
“वामदेव कमरेड जस्तो अपमानित भएर, भाग्नुपर्ने अवस्था पर्यो भने घर न घाटको हुने । न रुन सकिने न हाँस्न सकिने अवस्था हुन्छ । त्यो अवस्थामा कोही पनि नपरोस् भनेर समयमा नै विचार पुर्याएर हामी अन्तिम अन्तिम समयमा पनि आइरहेका छौं, सहज बाटो रोज्दा राम्रो हुन्छ । असहज बाटो भनेको बाध्यता हो,” उनले भने ।