बीबीसी । कम्पनी सामसङले नयाँ ग्यालेक्सी जी फ्लिप ३ र फोल्ड ३ को लन्चसँगै फोल्ड गर्न मिल्ने फोनलाई पुनः केन्द्रमा ल्याउने तयारी गरिरहेको छ ।
यसअघि सामसङका १ हजार पाउन्ड पर्ने लक्जरी फोल्डिङ फोन, यसको मूल्यकै कारण सुरुवातमा चर्चामा आएपनि अपेक्षा गरेजति सफल हुन सकेका थिएनन् । यस्तोमा कम्पनीले अहिले औसत प्रयोगकर्तालाई पनि आकर्षित गर्न यसको मूल्यका साथै तुलनात्मक रुपमा बलियो र टिकाउ पनि बनाएको छ ।
६.२ इन्चको डिस्प्लेबाट ‘फोल्ड ३’ लाई ७.६ इन्च स्क्रिनको ट्याबलेटमा परिणत गर्न सकिन्छ । यसमा सामसङले सेल्फी क्यामेरालाई भित्र लुकाएको हुँदा डिस्प्लेमा कुनै अवरोध देखिँदैन र स्क्रिनको बीचमा क्यामरा अदृश्य हुने बताइएको छ । त्यस्तै कम्पनीले यसपटक सफ्टवेयरमा सुधार ल्याउनेतर्फ पनि ध्यान दिएको छ । फोल्ड खोल्दा यो फोनका सबै फिचर ट्याबलेट जस्तै हुनेछन् ।
यति मात्र नभइ पहिलोपटक यो फोनलाई ‘वाटर रेजिस्टेन्ट’ अर्थात पानीमा पनि केही नहुने किसिमले निर्माण गरिएको छ । यसको सानो भर्जन, जी फ्लिपको स्क्रिन चाहिँ ६.७ इन्चको रहेको छ जसलाई आधाले फोल्ड गर्न सकिन्छ र खल्ती या पर्समा धेरै ठाउँ नओगटि सजिलै अटाउन सक्छ । यसको बाहिरी स्क्रिन १.९ इन्चले बढाइएको हुँदा डिभाइस नखोलि नोटिफिकेसन पढ्न सजिलो गराउँछ ।