काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि साउन १८ गते जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोनाभाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरभित्रका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले यो खोप पाउनेछन्।
साथै महानगरपालिकाभित्र चल्ने सार्वजनिक ठूला बस, माइक्रोबस र टेम्पोका चालक र सह–चालकलाई पनि यो खोप लगाइने छ। उद्योग वाणिज्य संघ ललितपुरको सिफारिस पाएका खुद्रा व्यवसायी र विदेश जान टिकट र भिसा लिएकालाई पनि यो खोप दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए।यस्तै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पनि खोप लगाउन पाउने छन् ।
महानगरले जोन्सन एन्ड जोन्सन खोप पाटनढोकास्थित पाटन मावि, जावलाखेल चोक (फुटबल मैदानसँगै) र सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविको खोप केन्द्रबाट दिने व्यवस्था मिलाएको छ। यी तीनवटा खोप केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिने महानगरले जनाएको छ। यी समूहको जनसम्पर्क धेरै हुने भएकाले यो पटक ती पेसा र व्यवसायमा रहेकालाई खोप लगाउन लागेको हो ।