काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन्।
बिहीबार राष्ट्रपति बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने पनि जानकारी दिए। यसअघि उनले अमेरिकी सैनिकहरू सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने योजना सुनाएका थिए।
बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताए। अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक फर्किइसकेका छन्। अघिल्लो साता काबुलको उत्तरमा रहेको बगराम एयरबेस अमेरिकी सैनिकले अफगान समकक्षीलाई जानकारी नै नदिई राति नै छोडिदिएका थिए।