तालिवानविरूद्ध हतियार बोकेर सडकमा निस्किए अफगान महिला

तालिवानविरूद्ध हतियार बोकेर सडकमा निस्किए अफगान महिला

काठमाडौं । अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू विद्रोही तालिवान समूहविरूद्ध हतियार बोकेर सडकमा निस्किएका छन्। अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि पछिल्लो समय तालिवानले अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई नियन्त्रणमा लिएका छन्।

कट्टरपन्थी तालिवानविरूद्ध सयौं महिलाहरू राइफल बोकेर सडकमा निस्किएका हुन्। उनीहरूले हतियारसहितका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। सडकमा उनीहरूले हतियार देखाउँदै तालिवानविरोधी नाराहरू पनि लगाएका छन्। सडकमा निस्किएका महिलाहरूसँग देशव्यापी रूपमा तालिवानविरूद्ध अग्रपंक्तिमा गएर लड्न सक्ने अनुभव त छैन तर उनीहरूको प्रदर्शनले तालिवानको सम्भावित शासनबारे उनीहरू कति त्रसित छन् भन्ने देखाउँछ।

अफगानिस्तानमा महिलाहरू यसरी हतियार बोकेर सडकमा निस्कने घटना बिरलै हुन्छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्। उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए।

भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ। २० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ। यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो। अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।

कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन्।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar