काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।
बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो ।
नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ । नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ ।
समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ । यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो ।