मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने

मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने

काठमाडौं । लियोनेल मेस्सी बार्सिलोनासँग नयाँ करार सम्झौता निकट रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ । ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो ।

गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको समाचारमा उल्लेख छ । आफ्नो निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको आँकलन गरिएको छ ।

क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग मेस्सीको सम्बन्ध चिसिएको थियो तर नयाँ अध्यक्ष जोआन लापोर्टासँग भने मेस्सीको सम्बन्ध राम्रो रहेको बताइएको छ । नयाँ खेलाडी एरिक गार्सियालाई क्लबमा भित्र्याएको कार्यक्रममा बोल्दै लापोर्टाले केही दिनअघि मेस्सीसँग नयाँ करारका लागि भइरहेको छलफल सकारात्मकरुपमा अघि बढिरहेको बताएका थिए । ‘उनी यहाँ बस्न चाहन्छन् र हामी त्यो पुरा गर्न हरसम्भव प्रयास गर्नेछौँ,’ उनले भने ।

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar