हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

काठमाडौं। घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) बनाएर बेच्न पाउने भएका छन्।

यो प्रावधान भूमिसम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो।

यो विधेयक आइतबार संसदीय समितिबाट पारित गर्ने तयारी छ। यसअघि गत बिहीबार घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने विषयमा सहमति भएको थियो।

यसअघि विं.सं. २०७६ सालमा भूमिसम्बन्धी ऐन संशोधन भएपछि घर जग्गा व्यवसायको निम्ती हदबन्दीभन्दा बढीको जग्गा लिने बाटो खुला भएको थियो। हाल एक सयभन्दा बढी कम्पनीले घर जग्गा व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन्।

प्रस्तावित विधेयकको दफा (१)मा घर जग्गा व्यवसायको जग्गा बिक्रीसम्बन्धी व्यवस्था छ। उपदफा १ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ को खण्ड (ङ१) बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न सक्ने छ।’

उपदफा २ अनुसार त्यस्तो कम्पनीले घर वा आवास इकाइ (अपार्टमेन्ट) बिक्री गर्दा त्यस्तो घर वा आवास इकाइ (अपार्टमेन्ट) खरिद गर्ने व्यक्तिहरूको सामूहिक उपयोगमा रहने गरी राखिएको जग्गालाई खरिदकर्ताको सामूहिक स्वामित्व कायम हुने गरी दाखिल खारेज गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति:     २६ श्रावण २०८२, आईतवार  |    Himali Khabar