यी हुन तारकेश्वर गाउँपालिकाको आगामी बर्षको बजेटमा परेका योजना र कार्यक्रमहरु

यी हुन तारकेश्वर गाउँपालिकाको आगामी बर्षको बजेटमा परेका योजना र कार्यक्रमहरु

नुवाकोट । तारकेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७९/८० का लागि ४९ करोड ८९ लाख ३३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । असार १० गते आयोजित ७ अौ गाउँ सभामा गाउँपालिका अध्यक्ष शिव अधिकारीले निति कार्यक्रम तथा उपाध्यक्ष हरि प्रसाद रिमालले बजेट वक्तव्य सार्वजनिक गर्नुभएको थियोे ।

नीति कार्यक्रमले मुख्य रूपमा स्थानीय पुर्वाधार निर्माण , लक्षित समूह क्षमता विकास , रोजगारी सिर्जना , कृषि जस्ता बहुआयामिक क्षेत्रको विकासमा जोड दिएको छ। आगामी बर्षमा पालिका भरको सबै कच्ची बाटोहरू ग्राभेल गर्ने, ठूला खानेपानी आयोजना सम्पन्न गर्ने , विभिन्न किसिमका स्वरोजगारमूलक कार्यक्रम र तालिम संचालन गर्ने प्रशासनिक भवन निर्माण अघि बढाउने जस्ता कार्यक्रम हरू समावेश गरेको छ ।

यसका अलवा १ शिक्षक १ ल्यापटप , बालविकास र विद्यालय कर्मचारीका लागि तलब वृद्धि , उपाध्यक्ष शैक्षिक छात्रवृत्ति कार्यक्रम , अध्यक्षसंग वालवालिका कार्यक्रम जस्ता रचनात्मक कार्यक्रमहरू समेत समावेश गरेको छ।

एकल महिला , विपन्न दलित परिवारका सन्तानको लागि उच्च शिक्षामा छात्रवृत्ति तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति समेतको व्यवस्था नीति कार्यक्रम तथा बजेटले समावेश गरेको छ । स्थानीय तहमा उद्योग को विकासका लागि करछुट तथा सहुलियत को घोषणा, अध्यक्ष संग उद्धमि , जलविद्युतमा लगानी विस्तार गरि उज्यालो तारकेश्वर जस्तो कार्यक्रम समेत समावेश गरिएको छ। दलित, अल्पसंख्यक , द्वन्द पिडित तथा एकल महिला आदि लक्षित सिपविकास तालिमका साथै सेवा प्रवासमा विशेष प्राथमिकता दिने विषय समेत नीति कार्यक्रम तथा बजेटले समावेश गरेको छ । कृषिका लागि विभिन्न अनुदान तथा योजना हरू समावेश गर्दै , उत्कृष्ट किसान पुरस्कार , मल बिउमा अनुदान थप, यान्त्रिक सामाग्री अनुदान, भूमि बैकको अवधारणा जस्ता कार्यक्रम हरू समावेश गरेको छ। अर्को तर्फ राजस्व सुधारका लागि त्रिशूली नदि किनार सहितको अन्य क्षेत्रको नदिजन्य पदार्थ कानुन बमोजिम उत्खनन् तथा निकासी गर्ने, स्थानीय निर्माण कार्यमा उक्त सामाग्री कच्चा पदार्थको रूपमा प्रयोग गरिने, अनलाइन पेमेन्ट प्रणाली लागू गरिने जस्तो विषय समेटिएको छ।

नीति कार्यक्रम सार्वजनिक समारोहमा मन्तव्य राख्दै अध्यक्ष शिव अधिकारीले प्रस्तुत नीति कार्यक्रम आश्वासनका पोका मात्रै नभइ स्थानीय आवश्यकता रहेकाले यसको पुर्ण प्राप्तिमा आफू र सिङ्गो पालिका प्रतिबद्ध भएर लाग्ने बताउदै सबैलाई रचनात्मक सहयोग को अपेक्षा गरेको समेत बताउनु भयो । उहाँले असारे विकासको ट्रेन्ड अन्त्य गर्दै , आउदो साल भदौबाट योजना सम्झौता सुरु गर्ने र ठेक्का सम्पन्न गरिसक्ने बताउनुभयो। त्यसै गरि टुक्रे योजनालाई निरूत्साहित गर्दै रूपान्तरणकारी योजनामा पालिकाले लगानी गर्ने पनि बताए ।

कार्यक्रममा उपाध्यक्ष हरि रिमालले प्रस्तुत बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग प्राप्त हुने विश्वास राखेको बताउनुभयो । साथै पारित नीति कार्यक्रम तथा बजेट कार्यान्वयनमा पालिका सक्षम रहेको पनि दाबि गर्नुभयो । नीति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा वडाअध्यक्षहरू, गाउँ सभा सदस्य हरू तथा सभा सचिव राजु अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति:     १२ असार २०७९, आईतवार  |    Himali Khabar