काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै २४ बुदे ज्ञापन पत्र बुझाएको छ । ‘हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!’ अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा, दामोदर नेपाल, विकाश भण्डारी, ध्रुव पुडासैनी, प्रह्लाद भट्ट र दिनेश घिमिरेले नगरप्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुंगाना र कार्यकारी अधिकृत दीपक खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले जनप्रतिनिधिमा हावी भएको स्वेच्छाचारी प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । अभियानले नगरसभाको पूर्वसन्ध्यामा २४ बुँदे सुझाव पेस गरेको हो । ‘स्वायत्तता र विकेन्द्रीकरणभन्दा स्वेच्छाचारिता हावी भएकोले नगरले विकास र प्रगतिमा गति लिन सकेको छैन । यस्तो प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

अभियानले टुक्रे योजना तथा व्यक्तिको नाममा जारी गरिएका योजना कम्तिमा सामुदायिक हितको योजनामा लगानी गर्न, राष्ट्रिय गौरवको आयोजना तथा विभिन्न ठुला योजनाको नाममा आएको बजेट प्राकृतिक दोहन, सार्वजनिक सम्पत्ति दोहन र व्यवसायिक स्वार्थमा दुरुपयोग रोक्न र प्राकृतिक सम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणाका आधारमा पूर्वाधार निर्माण गर्न सुझाव दिएको छ ।
यस्तै सामाजिक सुरक्षाभत्ता वितरणको लागि गाउँटोलमा घुम्ति बैंकिङ सेवा सञ्चालन गर्नसमेत अभियानले माग गरेको छ । अभियानले सरोकारवाला भेला नहुने तर कोठे भेलाले उपभोक्ता समिति गठन गर्ने प्रथा बन्द गर्न, रैथाने प्रजातीका पशु तथा विउविजन संरक्षण गरी बजार व्यवस्थापन र गाउँटोलमा कृषिउपज संकलन केन्द्र स्थापना गर्न माग गरेको छ ।