काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा श्रावण १ गते देखि ३२ गते सम्म पशुपतिनाथमा नेपाल महात्म्य हुने भएको छ । नेपालका धार्मिक क्षेत्रको महत्वलाई जागरण गर्दै धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्ने, गौ संरक्षण अभियान संचालन गर्ने तथा वरपिपलको प्राकृतिक महत्वलाई विश्वब्यापी बनाउँदै लाखौं वरपिपल रोप्ने अभियान संचालन गर्ने लक्ष्यका साथ एक महिने धार्मिक अनुष्ठान हुने भएको हो।
शनिवार एक कार्यक्रमकाबीच प्रतिष्ठानले ऐतिहासिक तथा पौराणिक महत्व बोकेको हिमवत्खण्ड अन्तर्गत बर्णन गरिएको धार्मिक तथा तपोभुमी नेपालको महिमा, गरिमा, श्रीवृद्धि र राष्ट्र उत्थानको लागि पशुपतिक्षेत्रमा श्रावण १ गतेदेखि ३२ गते सम्म धार्मिक अनुष्ठान गर्ने घोषणा गरेको हो । बागमती प्रदेश संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. राम प्रसाद दाहाल, गौं संरक्षण अभियानका अभियान्ता सीता सहचरी, बोलबम अभियान्ता पशुपति काँबेरियाका अध्यक्ष छविलाल मण्डल लगायत धर्म अनुरागी महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमबाट नेपाल माहात्म्यको लागि आवश्यकता अनुसार थप गर्ने गरि हाललाई १३ संयोजक सहितको मुल आयोजक समिति घोषणा गरेको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डब्यको संयोजकत्वमा गठित महात्म्य मुल आयोजक समितिमा सह संयोजक तथा आर्थिक ब्यबस्थापन बिभाग अनिरुद्र तिम्सिना, प्रचार प्रसार बिभागमा हरिकृष्ण दाहाल, यातायात तथा बन्दोबस्ती बिभागमा सौरभ भण्डारी, यज्ञ तथा हवन ब्यबस्थापन बिभागमा सीता सहचरी, अतिथि तथा वक्ता समन्वय बिभागमा राजन कोईराला, भोजन तथा आवास ब्यबस्थापन बिभागमा बिनोद कुईकेल, यज्ञस्थल निर्माण बिभागमा मेघनाथ दाहाल, भजन तथा गायन ब्यबस्थापनमा मनिष रञ्जन बराल, छपाइ तथा मुद्रणमा श्याम बजगाईं , स्वयंसेवक तथा सुरक्षा ब्यबस्थापनमा अच्युत बजगाईं, यज्ञचार्य तथा गुरुबर्ग समन्वय बिभागमा ज्यो. गोपाल अधिकारीलाई बिभागीय प्रमुखको जिम्मेवारी तोकिएको आयोजक समितिका प्रबक्ता हरिकृष्ण दाहालले बताए । नेपाल माहात्म्यको उद्येश्य पूरा गर्न मार्गदर्शनको लागि आवश्यकता अनुसार थप गर्ने गरि जगद्गुरु अनन्त श्री विभुषित श्री बाल सन्त मोहन रमण देवाचार्य महाराजश्रीको संयोजकत्वमामा नौ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
सल्लाहकार सदस्यहरुमा शिक्षाविद् प्रा.डा. राम प्रसाद दाहाल, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा.जगमान गुरुङ, संस्कृतिविद प्रा.डा विणा पौडेल, मधेशी आयोगका अध्यक्ष डाक्टर माननीय विजय कुमार दत्त, राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मा, साहित्यकार तथा समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र बैंकर्स प्रज्वल कुमार दाहाल रहेका छन।