एक लाख विरुवा रोप्ने आजपा नेता यादवको घोषणा

एक लाख विरुवा रोप्ने आजपा नेता यादवको घोषणा

गौर । आम जनता पार्टी (आजपा) का नेता निवेश यादवले एक लाख विरुवा रोप्ने घोषणा गरेका छन् । सोमवार सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै नेता यादवले एक लाख वृक्षारोपण गर्ने अभियानको घोषणा गरेका हुन् ।

आम जनता पार्टीका प्रचार प्रसार विभाग उपप्रमुख समेत रहेका यादवले उक्त अभियान रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका गाउँहरुमा लागु गर्ने जनाएका छन् । रौतहट क्षेत्र नम्बर १ को दुइटै प्रदेशसभा क्षेत्रमा ५० हजारका दरले वृक्षारोपण गर्ने नेता यादवको योजना रहेको बताएका छन् ।

राजनीतिकर्मीले निर्वाह गर्नुपर्ने विभिन्न दायित्वहरुमध्ये वातावरण संरक्षण पनि एउटा महत्वपूर्ण कार्य रहेकोले आफुले अभियान घोषणा गरेको नेता यादवले जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा खेतीयोग्य जमिन बढीरहेको र मुख्य जनसंख्या कृषिमा आधारित रहेको तर वातावरणीय प्रभावका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको बताउदै नेता यादवले वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्न सकिने दाबी गरेका छन् ।

विभिन्न चरणमा गरिने वृक्षारोपणका बारेमा विस्तृत कार्यतालिका नै सार्वजनिक गर्ने नेता यादवको भनाइ छ । रौतहट क्षेत्र नम्बर १ मा नेता यादवको गृह नगर राजदेवी नगरपालिकासहित सदरमुकाम गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, माधव नारायण नगरपालिका सम्पूर्ण वडा तथा गढीमाई नगरपालिकाको तीनवटा र गरुडा नगरपालिकाको एउटा वडा पर्दछन् ।

प्रकाशित मिति:     ११ बैशाख २०८०, सोमबार  |    Himali Khabar