तारुका खानेपानी आयोजनाको शिलान्यास, दशकौंदेखिको समस्या हल हुने भएपछि स्थानीय हर्षित

तारुका खानेपानी आयोजनाको शिलान्यास, दशकौंदेखिको समस्या हल हुने भएपछि स्थानीय हर्षित

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर २ र ३ का नागरिकले दशकौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या अब दीर्घकालिन रुपमै समाधान हुने भएको छ । सो क्षेत्रका ६५० घरधुरीलाई सहज खानपानीे सुविधा उपलब्ध गराउन पालिकाले जोरघट्ट खानेपानी आयोजनाको काम अघि बढाएको छ ।

उक्त खानेपानी आयोजनाको हिजो पालिका अध्यक्ष शिव अधिकारीले शिलान्यास गर्नुभयो । उपाध्यक्ष हरिप्रसाद रिमाल, वडा नम्बर २ का अध्यक्ष शिव पनेरु र वडा नम्बर ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ, खानेपानी उपभोक्त समितिका अध्यक्ष समर बहादुर आले, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थितीमा आयोजनाको काम सुरु गरिएको हो । कार्यक्रममा अध्यक्ष अधिकारीले आयोजनाको काम यथाशिध्र अघि बढाउन सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ । तारुकाका नागरिकलाई खानेपानी खुवाउने यो आयोजना छिटोभन्दा छिटो सम्पन्न गरेर नागरिकलाई राहत प्रदान गर्न उहाँको निर्देशन छ ।

यो समस्या बर्षौदेखि बिवादको भूमरीमा फसकेको थियो ।

गाउँमा खानेपानीको अभाव हुँदा मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको छ । विशेषगरी हिउँदेयाम शुरू भएलगत्तै स्थानीयलाई खानेपानीकै चिन्ता हुन्छ ।

आयोजना सम्पन्न गर्न जोरघट्ट–तारुका खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । नुवाकोट र धादिङको सिमानामा पर्ने जोरघट्टको मुहानबाट कम्तीमा ७ सेकेन्डमा २० लिटर पानी प्राप्त गर्न सकिने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति:     १८ बैशाख २०८०, सोमबार  |    Himali Khabar