रात्रीकालीन उडानका यात्रुको आवागमनमा सहजता गरिदिन आग्रह

रात्रीकालीन उडानका यात्रुको आवागमनमा सहजता गरिदिन आग्रह

काठमाडौं । रात्रीकालीन उडानका यात्रुको विमानस्थल आवातजावतमा समन्वय गरिदिन वायु सेवा सञ्चालक संघले सात जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

विमानस्थलबाट आवतजावतका लागि यातायात व्यवसायी र बसाइँका लागि होटलसँग सहजता गरिदिन संघले जिल्ला प्रशासन कार्यालय झापा, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलालीसँग अनुरोध गरेको हो।

१ जेठदेखि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज तथा धनगढी विमानस्थलमा राति १२ बजेसम्म उडान भइरहेको छ। तर, विमानस्थलबाट घर तथा होटलसम्म आवतजावतमा समस्या देखिएपछि संघले सहजता गरिदिन जिल्ला प्रशासन कार्यालयसमक्ष आग्रह गरेको हो।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन भइरहेको छ। भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ घण्टा सञ्चालनका लागि समय तोकिएको छ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar