काठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ आएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमा पठाएको जानकारी दिए । उनले यो प्रस्ताव छिट्टै मन्त्रिपरिषदबाट पारित हुने विश्वास समेत व्यक्त गरे ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन व्यवसायीको आग्रह बमोजिम मन्त्रालयले पहलकदमी लिएको भन्दै त्यसले छिट्टै मुर्तरुप लिने बताए ।
यस्तै मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आगमनलाइ सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताए । उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।