नवनियुक्त पर्यटनमन्त्री प्रेम आले सामु यी छन् मुख्य चुनौती

नवनियुक्त पर्यटनमन्त्री प्रेम आले सामु यी छन् मुख्य चुनौती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले मगरले पाएका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएका थिए । उक्त मन्त्रालयमा छँदा मन्त्री आले विवादै विवादबाट गुज्रिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले सामु चुनौतीको पहाड छ । कोरोनाले सबैभन्दा प्रभावित पर्यटन क्षेत्र अझै कोमामा छ । सरकारले नेपाल आउने पर्यटकका लागि आगमन खुला गरेपनि कतिपय मुलुकले अझै नेपाललाई रेड जोनमै राखेका छन् । त्यसलाई हटाउनुपर्ने छ ।

नेपाल वायुसेवा निगमको हालत निकै खराव छ । ठूला आकारका नयाँ एयरबस विमान किनेर उत्साही बनेको नेपाल वायुसेवा निगमको आर्थिक अवस्था भने नाजुक बन्दै गइरहेको छ। उसको सञ्चालन घाटा बढ्दै गएको छ। कर्मचारीहरु निजीकरणको विरोधमा छन् । उनीहरुलाई साथमा लिएर निगमको सुधार गर्नु निकै चुनौतीपूर्ण छ।

नेपालको वायुसेवा कम्पनी अझै युरोपको कालोसूचीमा छ । नागरिक उड्डयनको सुरक्षा चिन्तालाई लिएर नेपाल कालोसूचीमा परेको छ वर्ष भइसकेको छ।
पटकपटक छलफल गर्दा पनि युरोपको उक्त कालोसूचीबाट नेपाल उम्कन सकेको छैन।

यीबाहेक साँघुरिदो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरादेखि लिएर पर्यटन पुनरुत्थानमा परिणाममुखी काम गर्नु पर्नेचुनौती मन्त्री आले सामू छ । व्यवसायीहरुले पर्यटक आगमन बढाउन केही समय भिसा फ्रि गर्नुपर्ने माग पनि राख्दै आएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा प्रभावकारी काम गर्न नसकेको गुनासो पनि व्याप्त छ । त्यती मात्र होइन बोर्डको प्रशासनिक सुधारको माग पनि उठेको छ । त्यसको व्यवस्थापन गर्दैै बोर्डलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता छ । पर्यटन क्षेत्र चलायमान बनाउन ल्याइएको विदा पर्यटनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने जिम्मेवारी पनि आलेको काधमा छ ।

वन मन्त्री रहदा निकै बिवादित उनले पर्यटनमा कस्तो प्रभाव छोड्लान त्यो भने प्रतिक्षाकै विषय छ ।

प्रकाशित मिति:     २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar