काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेकाे छ।
मन्त्रालयलले साेमबार एक विज्ञप्ति जारी गर्दै काेराेनाकाे नयाँ भेरियन्ट संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकहरुको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद्बाट गरिएका निर्णयहरुकाे आधारमा मापदण्ड ताेकिएकाे जनाएकाे हाे।
मन्त्रालयका अनुसार नेपाल आउने यात्रुले पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोडसहितको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाे खुलाउनु पर्नेछ। यसबाहेक यात्रुहरुले १० दिनको होटल बुकिङ्ग गरेको प्रमाणका आधारमा मात्र हवाई उडानबाट नेपाल आउन अनुमति प्रदान गरिनेछ।
हवाई उडानमार्फत् विदेशबाट नेपाल आउने यात्रुहरुले नेपाल आइसकेपछि आफ्नै खर्चमा अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। १० दिन होटल क्वारेन्टिनपञ्चात् कोरोनाको संकेत एवं लक्षण देखिएका व्यक्तिहरुले पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएकाे छ।
पीसीआर परीक्षण गर्दा कोराेना रिपोर्ट पोजेटिभ आएमा कम्तीमा १० दिन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तोकेको आइसोलेसन सेन्टर वा तोकिएको अस्पताल वा होटल आइसोलेसनमा अनिवार्य बस्नुपर्ने छ।