दिल्लीमा लुम्बिनी कोषका उपाध्यक्ष डा. लामाको सम्बोधन : बुद्ध दर्शनबाट नै एसियाको एकता

दिल्लीमा लुम्बिनी कोषका उपाध्यक्ष डा. लामाको सम्बोधन : बुद्ध दर्शनबाट नै एसियाको एकता

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा खेन्पो छिमे छिरिङले भगवान बुद्धको उपदेशले एसियालाई बलियो र एकताबद्ध बनाउने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली बौद्ध शिखर सम्मेलनमा सम्बोधन गर्दै संविधानसभा सदस्य समरेत रहेका लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाई गर्न सक्ने बताएका हुन्। बुद्ध धर्मको बास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने उपाध्यक्ष लामाको भनाइ छ ।

भारत सरकारको संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय बौद्ध महासंघ आईबीसीसँगको सहकार्यमा आयोजना गरेको २ दिने सम्मेलनमा उपाध्यक्ष लामाले बुधबार सम्बोधन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी र नेपालमा जन्मेका भगवान बुद्धको उपदेशले विश्वलाई शान्तिको सन्देश दिने र सिंगोएसियालाई बलियो र एकताबद्ध बनाउने बताए।

डा लामाले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्पराहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए।

एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा लामाले एक चक्रवती राजाले धम्म शिक्षाको माध्यमबाट संसारभर राज गरेको समेत स्मरण गरे।

बौद्ध ग्रन्थहरूले ‘एसिया’ शब्दलाई पहिचान नगर्ने बताउँदै जम्बुद्वीप र मध्यदेशशका चक्रवर्ती राजाले संसारलाई धम्म शासनमार्फत जोडेको उनले बताए।

नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको शिक्षा भारतबाट बिस्तार भएको स्मरण गर्दै अब बुद्धका मुख्य शिक्षाहरूलाई विश्वभर फैलाउनुपर्नेमा उपाध्यक्ष डा लामाले जोड दिए।

अन्तर्राष्ट्रिय बौद्ध महासंघका उपाध्यक्ष समेत रहेका डा लामाले बुद्धका उपदेशका बारेमा भारत सरकार र एशियाका अन्य देशहरुले समेत यस्ता विद्धानहरुको सम्मेलन आयोजना गर्नुपर्ने बताए।

उनले आफू लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षका रुपमा सम्मेलनमा सहभागी धर्मगुरु, भिक्षु भिक्षुणी, लामाहरु सहित विभिन्न देशका विद्धानहरुलाई भगवान बुद्धको जन्मस्थल जन्मस्थल लुम्बिनीका लागि निमन्त्रणा गरे।

कात्तिक २० र २१ गते भारतको नयाँ दिल्लीमा प्रथम दक्षिण एसियाली बौद्ध शिखर सम्मेलन भएको हो।

सम्मेलनको भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी थिइन्। शिखर सम्मेलनमा नेपाल सहित एसियाली देशका बौद्ध धर्मगुरु, विद्वान, विज्ञ र अभ्यासकर्ताहरूको उपस्थिती थियो।

एसियाली देशमा रहेका बौद्ध सम्प्रदायहरुविच आपसि संवाद र समझदारीलाई प्रर्वद्धन र बौद्ध समुदायले सामना गरिरहेका समसामयिक चुनौतीहरूका बिषयमा सम्मेलनमा छलफल गरिएको थियो । डा लामा अन्तर्राष्ट्रिय जगचमा बौद्ध धर्मका शीर्ष गुरुका रुपमा परिचित छन् ।

प्रकाशित मिति:     २२ कार्तिक २०८१, बिहीबार  |    Himali Khabar