काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डको पुनरसंरचना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । टानको ४६ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डले काम गर्दै आएपनि समय अनुसार चल्न नसकेको स्विकर गर्दै अब यसको पुनरसंरचना गरी २१ औं शताब्दीको बोर्ड बनाउने दाबी गर्नुभयो ।
हिजोको मार्केटिङ र संरचनाले काम नगर्ने भन्दै आफ्नो तीन वर्षे कार्यकालमा यसलाई फेर्ने उहाँले बताउनुभयो ।
आफूहरुले बोर्डका गएको ३ महिनामा विगत ४ वर्षदेखि रोकिएको प्रवद्र्धनको कार्यक्रम सुचारु गरेको भन्दै उहाँले यो बीचमा ११ देशमा कार्यक्रम गरेको जानकारी समेत दिनुभयो । यसले पनि हाम्रो टिमले बोर्डमा सुधार गर्छ भन्ने विश्वास बढाएको दाबी छ ।
यस्तै उहाँले भ्याट र अवैज्ञानिक करले पनि नेपाल आउने पर्यटक निरुत्साहित भएको भन्दै यो क्षेत्रमा ५ प्रतिशत पर्यटन ट्याक्स राखेर भ्याट खारेज गर्न सुझाव समेत दिनुभयो ।