विदेशीलाई निषेधित कोरला नाका हिँडेका ६ भारतीय पक्राउ

विदेशीलाई निषेधित कोरला नाका हिँडेका ६ भारतीय पक्राउ

काठमाडौं । विदेशीलाई प्रवेश निषेध गरिएको चीनसँग सीमा जोडिएको कोरला नाका हिँडेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको कोरला नाका हिँडेका ६ जनालाई मंगलबार सशस्त्र र नेपाल प्रहरीले नेचुङको सुरक्षा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो ।

सोधपुछको क्रममा उनीहरू नेपाली नरहेको खुलेपछि उपल्लो मुस्ताङको नेचुङमा रहेको बीओपी र इलाका प्रहरी कार्यालय छोसेरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाएको थियो । त्यहाँबाट अध्यागमन कार्यालय पोखरा पठाइएकोमा बुधबार नै उनीहरूलाई काठमाडौं पठाइएको छ ।

विभागमा उपस्थित हुने गरी ६ जनालाई काठमाडौं पठाइएको अध्यागमन कार्यालय पोखराका प्रमुख नवराज शर्माले शिलापत्रलाई जानकारी दिए । ‘६ जनालाई विभागमा उपस्थित हुने गरी काठमाडौं पठाइएको छ । एक जना प्रहरी पनि पठाएका छौँ,’ उनले भने ।

उपल्लो मुस्ताङ पुगेकाहरू नेपाली मूलका भारतीय नागरिक हुन् । शिवकुमार गुरूङ, व्रिशेन गुरूङ, रिकशाङ्ग गुरूङ, दुर्गा गुरूङ, अभिषेक गुरूङ, सिद्धार्थ गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू भारत पश्चिम बंगाल दुवार जयगाउँका हुन् ।

प्रकाशित मिति:     २२ कार्तिक २०८०, बुधबार  |    Himali Khabar