यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

काठमाडौं । होटेल संघ नेपाल (हान)ले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको सन्दर्भमा सुझाव पेश गरेको छ । आगामी बजेटका सन्दर्भमा हानले अगाडि सारेका माग तथा सुझावहरु

–होटेल क्षेत्रको पुनर्उत्थानको लागि आगामी २ वर्षको मूल्य अभिवृद्धि करमा ५० प्रतिशत र होटेलहरुले आयकरमा २० प्रतिशत मात्र छुट पाउँदै आएकोमा यसलाई बढाइ ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने

–जरिवाना तथा हर्जानाहरुमा पूर्णतः मिनाहा गरिदिनु पर्ने र होटेल क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारले लगाउँदै आएको विभिन्न शीर्षकका प्रत्यक्ष करहरु आगामी ३ वर्षको लागि मिनाहा हुनुपर्ने ।

–होटेल जस्तो अति प्रभावित क्षेत्रलाई प्रदान गरिने विशेष पुनर्कर्जा ( ३ प्रतिशत ब्याजदरको)लाई अझ प्रभावशाली बनाई अर्को २ वर्षसम्मका लागि निरन्तरता गरिनुपर्ने । साथै, विशेष पुनर्कर्जाको सीमा ५ करोडबाट १० करोडसम्म पुर्‍याउनुपर्ने ।

–होटेलहरुको लगानीको आकार हेरी पुनर्कर्जाको सीमा २० करोडबाट बढाइ दायरा फराकिलो पारिनुपर्ने, साथै अति प्रभावित होटेल उद्योगका लागि छुट्टै रोजगार संरक्षण कोष र पर्यटन विकास (होटेल) कोषको व्यवस्था हुनुपर्ने ।

–होटेलहरु जीवितै राख्नका लागि होटेल सञ्चालन खर्च ५ प्रतिशत ब्याजमा सहज रुपमा उपलब्ध हुनुपर्ने र साथै अन्य सहुलियत कर्जा उपभोग गर्ने ऋणीहरुका लागि पनि यो व्यवस्था लागू हुनुपर्ने ।

–कोभिड १९ बाट अति प्रभावित क्षेत्र घोषणा गरिएको पर्यटन तथा होटेल उद्योगलाई २ वर्षसम्मको ब्याज स्थगनको लागि विशेष व्यवस्था हुनुपर्ने । साथै विना ब्याजमा पूँजीकरण गरिनुपर्ने । अन्य उद्योगले निर्यातवापत पाउँदै आएको मौद्रिक प्रोत्साहन होटेल उद्योगलाई पनि वैदेशिक मुद्रा आर्जन गरेवापत मौद्रिक प्रोत्साहन उपलब्ध हुनुपर्ने ।

–होटेल क्षेत्रका लागि आगामी २ वर्षको लागि विद्युत महसुलमा ५०% छुटको व्यवस्थाका साथै अवस्था सहज नहुन्जेलसम्मका लागि वा कम्तीमा २ वर्षको लागी डिमाण्ड शुल्कमा शतप्रतिशत छुटको व्यवस्था हुनुपर्ने ।

प्रकाशित मिति:     १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar