काठमाडौं । किलर माउन्टेनको रूपमा परिचित अन्नपूर्ण (प्रथम) हिमालको गएको शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शुक्रबार पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जनाले सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले जानकारी दिए ।
आरोहण गर्नेमा दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए। यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन्। अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै टोली चुचरोमा पुगेको थियो।
सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ। श्रेष्ठसहितको टोली वैशाख ३ गते शुक्रबार बिहान१ ः १५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो। खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए। सुन्दर ठाउँमा अवस्थित अन्नपूर्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे।