काठमाडौं । गाँउले पर्यटन–नेपाल (भिटोन) विभिन्न नौ देशका १० जनालाई एम्बास्डर तथा ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ। नेपालको ग्रामिण पर्यटन प्रवद्र्धनको लागि काम गर्दै आएको भिटोनले अन्तर्राष्ट्रिय पर्यटनमा चर्चित व्यक्तित्वहरुलाई सम्मान स्वरुप एम्बासडर तथा ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।
थाइल्याण्डकी अफिनिता चइचाना र मलेसियाका रविचन ड्रानथारुलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको छ। थाइल्याण्डकी चर्चित समाजसेवी चइचानले नेपालमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएकी छिन् । यस्तै मलेसियाका रविचन चर्चित हिमाल आरोही हुन् ।
एम्बास्डरमा भने बेल्जियमका रिता रोगिरर्स, डेनमार्कका री लुब्बेर्ट, चीनका कोलिन बाररी लावरेन्स, साउथ कोरियाका केन्नेथ हान, मेक्सिकोका अन्डेरा भेरा डुअर्टे, नेदरल्याण्डका कृष्ण गोपाल, भारतका प्रा.डा. दिनेश सबनिस र मलेसियाका डानिल चाईलाई नियुक्त गरिएको छ। उनीहरुलाई संस्थाले प्रदान गरेको उक्त सम्मान सम्भव भएसम्म उनीहरुको भौतिक उपस्थितिमा संस्थाका प्रमुख संरक्षक पूर्व उद्योग मन्त्री सुनिल बहादुर थापाले प्रदान गर्ने योजना रहेको भिटोनका अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए ।
संस्थाले ब्राण्ड एम्बास्डर तथा एम्बास्डरमा नियुक्त गरेको यो पहिलो पटक हो ।