काठमाडौं, २५ चैत ।सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।