काठमाडौं, ९ चैत । सरकारले होटल तथा रेस्टुराँलाई लकडाउन अवधिको विद्युत महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
उनका अनुसार सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत्को मागको शुल्क शतप्रतिशत मिनाहा गरिनेछ । त्यसैगरी असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत शुल्कमा ५० प्रतिशत छूट दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
सरकारले कुनै पनि विदेशी सहायता लिनुपरे मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने निर्णय गरेको छ । चैत ३ मा बसेको मन्त्रिपरिषद् बैठकले विदेशी सहायता लिनुअघि स्वीकृति अनिवार्य लिनुपर्ने निर्णय गरेको हो ।