काठमाडौं, ५ चैत । सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने बताइएको छ ।
सरकारले यस वर्ष ६९ जना माउन्टेन गाइडको सहयोगबाट छ वटा हिमालको फोहोर संकलन गर्ने भएको छ । आउने बैशाख र जेठको आरोहण सिजनमा पारेर नेपाली सेनाले सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, आमादव्लम र धौलागिरी हिमालबाट ३५ टन फोहोर संकलन गर्ने जनाएको छ ।
आधारशिविरदेखि अन्तिम क्याम्पसम्म १८ र आधारशिविर क्षेत्र १७ टन फोहोर संकलन गरी ल्याउने तयारी गरेको नेपाली सेनाका फोहोर संकलन सम्पर्क व्यक्ति मेजर अदिति कार्कीले बताए । फोहोर संकलनसँगै भेटिएका शवहरु आधारशिविर ल्याएर व्यवस्थापन गरिने छ ।
कुल ६९ जना माउन्टेन गाइडसँगै ४३ जना सैनिकले बैशाख र जेठमा छ वटै हिमालबाट फोहोर संकलनगर्ने जनाएको छ । छ हजार मिटर भन्दा माथि आरोहण गरेका सैनिकले सफाइ अभियानमा खटिने सेनाले जनाएको छ ।