दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट

दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध क्षेत्रीय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडानको ग्राउण्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

यो निर्णय भदौ २ गतेबाट लागू भएको क्यानले जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नेपाल वायु सेवा निगमले गर्दै आइरहेको छ।

गौतमबुद्ध विमानस्थलमा एकपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेपछि तीन लाख रूपैयाँ बुझाउँदै आएका छन्। क्यानको नयाँ निर्णयले अब डेढ लाख रूपैयाँ बुझाए पुग्नेछ। त्यस्तै गौतमबुद्ध विमानस्थलले ल्याण्डिङ, पार्किङ, नेभिगेसन र सेक्युरिटीमा दिइरहेको शतप्रतिशत छुटलाई निरन्तरता दिने क्यानले जनाएको छ।

भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल जजीरा एयरले कुवेतका लागि सातामा तीन उडान गर्दै आइरहेको छ। जजीराले सेप्टेम्बरदेखि हरेक दिन एउटा उडान गर्ने भएको छ। भैरहवाबाट बिज एयरले पनि उडानको तयारी गरिरहेको क्यानले जनाएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने २०२३ जनवरीदेखि सञ्चालन हुने गरी निर्माण भइरहेको छ।

प्रकाशित मिति:     ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar