टानमा बन्यो नयाँ समीकरण, कांग्रेस र एमाले निकट व्यवसायीबीच सहकार्य

टानमा बन्यो नयाँ समीकरण, कांग्रेस र एमाले निकट व्यवसायीबीच सहकार्य

काठमाडौं । पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को नेतृत्व चयनमा नयाँ समीकरण निर्माण हुने भएको छ। यसअघि मुख्य प्रतिस्पर्धा हुँदै आएको नेपाली कांग्रेस निकट व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) र नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमती भएको छ।

निटका अध्यक्ष दीपक महत र संगठनका अध्यक्ष पूर्ण कुँवरबीच सकेसम्म सहमती गर्ने र यदी सहमति नभएमा सहकार्य गरेर अघि बढ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निर्वाचनमा जाँदा अध्यक्ष र प्रथम उपाध्यक्ष निटलाई दिने र वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहितको पद संगठनलाई दिने सहमती भएको बुझिएको छ। यो सहमति पालना भएका अध्यक्षमा निलहरी बाँस्तोला उम्मेदवार हुने छन् । निटको तर्फबाट उनले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् । एमालेका तर्फबाट भने राजेन्द्र सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । तर यो सहमतिसँगै उनी अध्यक्षको उम्मेदवार बन्ने बाटो बन्द भएको छ ।

यो अवस्थामा माओवादी केन्द्रले एकल उम्मेदवारी दिने छ । माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा कमल सापकोटाले दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।

यस्तो समिकरण पछिल्लो एक वर्षयताकै नयाँ हो । यसअघि नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद् र गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा भने सत्तारुढ दलहरु निकट व्यवसायीबीच गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । एमाले निकट व्यवसायीहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।

प्रकाशित मिति:     २३ श्रावण २०७९, सोमबार  |    Himali Khabar