काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) काे अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले दावेदारी प्रस्तुत गर्नुभएको छ। टानकाे साधारणसभा एवम् निर्वाचन आगामी अगस्ट् १५ तारिकमा हुँदैछ ।
आज खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनरताजकीकरण गर्नु आफ्नो मुख्य उदेश्य रहेको उहाँले बताउनुभएको छ । यस्तै भद्रगोल अवस्थामा रहेको टिम्सलाई खारेज गरी ट्रेकिङ कम्पनीको सिफारिसमा सबै ट्रेकिङ रुटहरुमा अनिबार्य ट्रेकिङ परमिट लागु गराउने प्रयास गर्ने, सबै पदयात्रा क्षेत्रमा अनिबार्य गाईड लिएर मात्र पदयात्रा गर्नुपर्ने नियम लागु गराउन सरकारसँग लबिङ गर्ने प्रतिबद्ध जनाउनु भएको छ ।
यस्तै टिम्स कोषमा रहेको टानको रकम निकासा गरी स्थानिय निकायसँगको सहकार्यमा पदयात्रा मार्गको स्तरोन्नतिका साथै प्रबर्धन गर्ने प्रयास गर्ने र बिगत लामो समयदेखि टानमा रहेका बेरुजुहरुको फर्छौट गराई टानलाई पारदर्शी सस्थाको रुपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको बिभिन्न मुद्दाहरुलाई कानुनी तबरबाट यथाशिघ्र निरुपण गरी सस्थाको छबीलाई स्वच्छ बनाउन अधिकतम प्रयास गर्ने , ट्रेकिङ कम्पनीको चुक्ता पुजी २५ लाख बाट बढाएर ५० पुर्याइएकोमा त्यसलाइ घटाएर पुरानै बनाउने प्रयास गर्ने उल्लेख छ । मजदुर र व्यवसायीहरुबीच उच्चतम सहकार्यमा पर्यटकहरुलाई सेवा दिने साथै मालिक र मजदुरबीच सौहर्दपुर्ण सम्बन्ध निर्माण गर्न टानले अभिभाबक्त्वको भूमिका खेल्ने वातावरण निर्माण गर्ने जनाउनु भएको छ ।
लामो समयदेखि पर्यटनमा आवद्ध सापकोटा आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकहुनुहुन्छ । उहाँले नेपाल पर्यटन बोर्डमा सदस्यको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ ।