काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज गरिएको छ।
विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकलाई ‘अन अराइभल भिसा’ का लागि नगद २ सय अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो।
उक्त सूचनाको चौतर्फी विरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।