अनावश्यक विवादमा पारिए बोर्डका सिईओ रेग्मी, कर्मचारीलाई हातपात र मापसेबारे गलत प्रचार

अनावश्यक विवादमा पारिए बोर्डका सिईओ रेग्मी, कर्मचारीलाई हातपात र मापसेबारे गलत प्रचार

काठमाडौं । कात्तिक २० गते भाइटीकाको दिन बिहान लन्डनबाट पर्यटन प्रवर्द्धन सम्बन्धि मेलामा सहभागी भएर संस्कृत,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले, पर्यटन सचिव यादव कोइराला, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनन्जय रेग्मी लगायत केहि पर्यटन व्यवसायी सहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । मन्त्री र सचिव विमानस्थलको भिआइपी मार्ग प्रयोग गर्दै बाहिर निस्किए भने सिईओ रेग्मी, बोर्डकै एक अधिकारी र केही व्यवसायी सहितको टोली भने साधारणले प्रयोग गर्ने मार्गबाट बाहिर निस्किए ।

विदेशबाट फर्कदा सिईओ रेग्मी, बोर्डका अर्का एक अधिकारी र पर्यटन व्यवसायी ईश्वरी पौडेल सहित ६ जनाले एक–एक बोतल मदिरा खरिद गरेर ल्याएका थिए । सिईओ रेग्मीका अनुसार विदेशीलाई संगै लिएर आएका व्यवसायी पौडेलले ४ र रेग्मी र अर्का एक अधिकारीले २ वटा मदिरा ल्याए हुन । तर पौडेलले अध्यागमनमा विदेशीलाई फर्म भराउन तिर लागेपछि ४ वटा मदिरा भएको झोला सिईओ रेग्मीले नै बोकेर जाचपासमा लागे । भन्सार कार्यालयका कर्मचारीले उनलाई उक्त मदिराबारे जानकारी लिन थाले उनले ६ जनाको एक–एक बोतल भएको र अन्य आउने क्रमम रहेको जानकारी गराए । तर उनी माथि कर्मचारीले असन्दर्भिक व्यवहार देखाएपछि कर्मचारी र सिईओ रेग्मीबीच बिवाद सृजना भयो । सो विषयलाई लिएर भन्सारका कर्मचारीहरुले असहमति जनाएपछि उनले एक कर्मचारीले अर्को कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कानुन अनुसार ५ हजार जरिवाना गरेर बाहिर निस्किए ।

तर उनी मदिराले मातेर कर्मचारीलाई हातपात गरेको र कानुन विपरीत मदिरा ल्याएको भनी गरिएको प्रचारमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।

उसो त उनको स्वास्थ्य परीक्षण रिपोर्टमा पनि मदिरा सेवन गरेको देखिएको छैन । भन्सार विभागका प्रवक्ता पूण्य विक्रम खड्काले पनि परीक्षण रिपोर्टमा मदिरा सेवन गरेको नदेखिएको र सामान्य विवाद भएपनि रेग्मीले कर्मचारीलाई हातपात नगरेको हिमाली खबरलाई जानकारी दिए । सिसिक्यामेरा फुटेज प्रहरीसँग सुरक्षित रहेकाले कर्मचारीसँग सामान्य विवाद भएपनि हातपात नभएको प्रष्ट पारे ।

यहि विषयलाई लिएर मन्त्रालयले उनीसँग लिखित स्पष्टीकरण मागेको छ भने कतिपयले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने तर्क समेत गर्दै आएका छन् । तर उनी राजीनामा नदिने अडानमा छन् ।

उनलाई हटाउने प्रपन्च

उनी २०७६ माघ १४ गते आगामी चार वर्षका लागि खुल्ला प्रतिस्पर्धाबाट सिईओमा नियुक्त भएका हुन । त्यो समयमा एमाले नेता योगेश भट्टराई पर्यटन मन्त्री थिए । पछिल्लो समय सत्तासमिकरण फेरिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका नेता प्रेम बहादुर आलेको काधमा छ । उसो त उनको कामबाट केहि व्यवसायी मात्र होइन बोर्डकै केही कर्मचारी समेत रुष्ट छन् । उनीहरु सरकार परिवर्तन भएसँगै उनलाई हटाउन लबिङमा लागेका छन । यो उनीहरुका लागि गतिलो अवसर बन्ने मनसायले अतिरन्जित गरेको आरोप छ । उसो त मन्त्री आले पनि उनलाई हटाउने र आफ्नो मान्छे ल्याउने मनस्थितिमा छन । सोहिकारण मन्त्रालयले उक्त विषयमा स्पष्टीकरण सोधिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति:     २५ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar