२०८ मुलुकका हिरोलाई एकसाथ सगरमाथा चढाउने परियोजना सुरु

२०८ मुलुकका हिरोलाई एकसाथ सगरमाथा चढाउने परियोजना सुरु

काठमाडौं । नेपाली कम्पनी प्रिन्स प्रोडक्सनले एकैपटक २०८ मुलुकका प्रतिनिधी व्यक्तित्वहरुलाई सगरमाथा चढाउने भएको छ। ‘२०८ हिरोज जर्नी टु एभरेस्ट’ परियोजना अन्तर्गत विश्वभरका जनताले आफूलाई मन परेको हिरोलाई भोट गरेर सगरमाथा चढ्न पठाउने छन् ।

पहिलो पटक सुरु गरिएको यो परियोजनाले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको परियोजनाका कन्सेप्ट डेभलपर शान्त शर्माले बताए । ‘२०८ हिरोज् जर्नी टु एभरेस्ट’ एक सिनेमा हो । तर, यसमा अभिनय भने विशुद्ध कलाकारले नभई वास्तविक जीवनका हिरोहरूले गर्नेछन् । सिनेमामा विश्वभरिबाट पब्लिक भोटिङ’मार्फत चुनिएका रियल लाइफ हिरोहरूको सगरमाथा यात्रालाई समेटिनेछ । हिरो छनोटका लागि पब्लिक भोटिङ अनलाइन हुने छ, जसका लागि भोटिङ वेबसाइट यसअघि नै लन्च गरिसकिएको छ।

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी तीन मिनेटको भिडियो सार्वजनिक गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले २०८ देशका नम्बर वन पब्लिक फिगर एकैसाथ सगरमाथा आरोहण गर्न आउनु नेपालकै लागि गर्वको विषय भएको बताइन । यसले विश्वभर नेपालबारे सकारात्मक सन्देश दिने बताइन् ।

यस्तै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पनि नेपाली पर्यटन क्षेत्रको विकास र प्रचारमा यसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:     ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar