नुवाकोट कांग्रेसमा केसी पक्ष पुनः बलियो, १२ मध्ये ८ तहमा केसी पक्षको नेतृत्व,जिल्लाको नेतृत्व कसले हत्याउला ?

नुवाकोट कांग्रेसमा केसी पक्ष पुनः बलियो, १२ मध्ये ८ तहमा केसी पक्षको नेतृत्व,जिल्लाको नेतृत्व कसले हत्याउला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गएको शनिवार नुवाकोटमा भएको पालिकास्तरीय निर्वाचनमा अजुर्ननरसिंह केसी पक्षले अग्रता लिएको छ । कांग्रेस नेता केसी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको समूहविरुद्ध कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको समूह प्रतिस्पर्धामा थियो ।

जिल्लाका दुवै नगरपालिकामा सहित ६ गाउँपालिकामा संस्थापनइतर (केसी) पक्षका उम्मेदवारले जित हासिल गरेका छन् । विदुरमा हरिलाल श्रेष्ठ र बेलकोटगढीमा लेखनाथ मुडभरी बिजयी भए । यस्तै तारकेश्वर गाउँपालिका सभापतिमा केशव अर्याल, सूर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल, लिखु गाउँपालिकामा विनोद पाठक , ककनी गाउँपालिकामा भाग्यश्री लामा र दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान संस्थापनइतर समूहबाट निर्वाचित भएका हुन ।

तादी गाउँपालिकाको सभापतिमा निर्वाचित नारायणप्रसाद पाण्डे पनि डा.रामशरण महतनिकट भएकाले केन्द्रको राजनीतिमा संस्थापन इतर समूहमै रहेका छन् । केन्द्रमा डा.रामशरण महत र अर्जुननरसिंह केसी एउटै पक्षमा भएपनि नुवाकोटमा भने उनीहरुको कित्ता फरक छ ।

यस्तै संस्थापन अर्थात महत र लामा पक्षबाट मेघाङ गाउँपालिकामा सिंहराज तामाङ, किस्ङ गाउँपालिकामा रणबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकामा माधवप्रसाद खनाल र शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

निर्वाचित सभापतिमध्ये महत, लामा पक्षका ४ र केसी पक्षका ८ जना रहेका छन् ।

भदौ २१ गते जिल्लाको वडाको अधिवेशनको नजिताले केसी पक्ष कमजोर बनेको देखिएको थियो । त्यसैको आधारमा लामो समयदेखि नुवाकोट कांग्रेसमा एकछत्र राज गर्दै आएको केसी समूहले १४औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व गुमाउने पक्का जस्तै भएको अनुमान कांग्रेसीहरुले गरेका थिए । जिल्लामा वहादुरसिंह लामाले समेत पहुँच बढाउँदै लैजानु र महत पक्षलाई उनले साथ दिनुले केसी पक्ष अब कमजोर हुने अनुमान गरिएको थियो । तर पालिकास्तरीय निर्वाचनको नतिजा अनुमान भन्दा बाहिर भएपछि अब नुवाकोट कांग्रेसको नेतृत्व कसले हत्याउला भन्ने अनुमान थप पेचिलो बनेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा नुवाकोट कांग्रेस सभापतिका लागि महत र लामा पक्षबाट युवा नेता रमेश कुमार महत उम्मेदवार बन्ने निश्चित जस्तै देखिएको छ । तर केसी पक्षबाट को उम्मेदवार हुने टूंगो छैन् । नेपाल चिकित्सक संघका अध्यक्ष केदारनरसिंह केसी र नुवाकोट जिल्ला पार्टी सचिव सुरेन्द्रराज अधिकारीको चर्चा बढी छ ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar