आजदेखि चार उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइने

आजदेखि चार उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने जनाएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने छ ।

यस्तै काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने छ । साथै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने छ । त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar