नेपालको पर्यटन क्षेत्र खुला भएको घोषणा गर्न व्यवसायीको माग

नेपालको पर्यटन क्षेत्र खुला भएको घोषणा गर्न व्यवसायीको माग

काठमाडौं । व्यवसायीहरुले नेपालमा पर्यटक आगमन सहज बनाउनु पर्ने माग गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले माग गरेका हुन ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले भ्याक्सिन लगाइसकेको सन्दर्भमा अब पर्यटन क्षेत्र खुला भएको घोषणा गर्नुपर्ने धारणा राखे ।

सरकारले तत्कालै पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउनु पर्ने, सुरक्षित गन्तव्य र गतिविधि पहिचान गरि प्रचार गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाई पर्यटकको भ्रमण सहज बनाउनु पर्ने उनीहरुको तर्क हो ।

सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने यो सिजन सेप्टेम्बर –नोभेम्बरमा पनि व्यवसायीले लाभ लिन नपाउने जोखिम रहेको व्यवसायीहरुको तर्क छ ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar