शनिबारदेखि मौसममा सुधार हुने

शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं । गत केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो। शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar