कोरोना खोप लगाउनेलाई अमेरिकाले १०० डलर दिने

कोरोना खोप लगाउनेलाई अमेरिकाले १०० डलर दिने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar